त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ३७ रनले पराजित गरेको छ ।
टस जितेर पीएनजीले फिल्डिङ राजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।
२०४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पीएनजीले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन मात्रै बनाउन सक्यो ।
उसका चार्ल्स जोर्डन अलेवा अमिनीले ६२, टोनी पाला उराले ४३, सेसे बाउले २५, नर्मन भानुआले १७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
पीएनजीलाई सस्तैमा नेपालका करण केसीले ह्याट्रिकसहित ५ विकेट लिए । टी२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक हो ।
करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा तीन विकेट लिँदै ह्याट्रिक गरेका थिए । उनले चाड सोपरलाई २ रन, अताइ र पोकनालाई शून्यमा आउट गरे । उनले सोपर र पोकनालाई क्याच गराउँदा अताइलाई बोल्ड गरे । करणले ३.४ ओभरमा २१ रन दिए ।
नेपालका तीव्र गतिका बलर केसीले आजै टि२० आई खेलमा ५० औं विकेट पूरा गरेका छन् । करणले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध पहिलो ओभरमा विकेट लिँदै ५० विकेट पूरा गरेका थिए ।
त्यस्तै, सोमपाल कामी, अविनास बोहराले २–२ र सन्दीप लामिछानेले १ विकेट लिए ।
नेपालको प्रदर्शन
पहिले ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले उत्कृष्ट प्रदर्शन गरे ।
नेपालका लागि ऐरीले ३३ बलमा ६६ रन, रोहितकुमार पौडेलले ४१, आशिफ शेखले ३८, आजको खेलमा डेब्यू गरेका आक्रामक ब्याटर अन्सारीले ११ बलमा ३१, कुशल भुर्तेलले १७ रन बनाए । दिपेन्द्रको यो टि२० आई करिअरको चौथो अर्धशतक हो ।
बलिङमा पीएनजीका कबुअ मोरेअले ३, रिले हेकुरेले २ नोर्मन भानुअले १ विकेट लिए थिए ।
फाइनल प्रवेश
यो लगातार तेस्रो जितसँगै नेपाल एक खेल अगावै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेश गरेको छ ।
सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकपमा पहिलो टी२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको यो ५०औं टी२० अन्तर्राष्ट्रिय खेल हो । ऐतिहासिक खेलमा नेपालले शानदार जित हात पार्दै एक खेल अगावै श्रृंखलाको फाइनलमा समेत स्थान बनायो ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सो खेलमा पराजित भए पनि नेपालको फाइनलमा स्थान पक्का छ । फाइनल आगामी सोमबार हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल ३ खेलबाट ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमै छ । पीएनजीले तीन खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ ।
मलेसिया २ खेलमा १ जित र १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।