पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली युवा ब्याटर रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन् ।
उनले ५४ बलमा तीन चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । एकदिवसीय क्रिकेटमा पौडेलको यो पाँचौं अर्धशतक हो । योसँगै उनी नेपालको तर्फबाट वानडे क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने पहिलो ब्याटर बनको छन् ।
यसअघि रोहित र ज्ञानेन्द्र मल्लले सर्वाधिक ४–४ अर्धशतक बनाएका थिए । अब ज्ञानेन्द्रललाई रोहितले पछि पारेका छन् ।
यस्तै, युवा ब्याटर पौडेलले पपुवा न्युगिनीसँगको खेलमा नयाँ कीर्तिमान बनाएका छन् । पपुवा न्युगिनीसँग सुरुवाती २० रन जोडेसँगै रोहित ओडिआईमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् ।
रोहितले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै ओडिआईमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् ।
दोस्रो स्थानमा रहेका ज्ञानेन्द्रले १९ खेलमा ४ सय ८० रन र १० खेल खेलेका पारस खड्काले ३ सय १५ रन बनाएका छन् ।
२९३ रनको लक्ष्य पाएको नेपालले यो समाचार तयार पार्दासम्म ३३ ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको छ । ७३ रनमा रोहित र २७ रनमा आरिफ शेख क्रिजमा छन् ।