कर्णाली प्रदेशले आइतबार सुदूरपश्चिम प्रदेशलाई ३४ रनले हराउँदै यू–१९ महिला राष्ट्रिय प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदान टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदशेले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९३ रन बनाएको थियो । ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १३।४ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो ।
कर्णाली प्रदेशका लागि ओपनर किरणकुमारी कुँवरले सबैभन्दा धेरै २५ रन बनाइन् । अर्का ओपनर तृष्णा विश्वकर्माले १२ रन बनाइन् । दुईले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । कर्णालीले ४१ अतिरिक्त रन पाएको थियो ।
सुदूरपश्चिमका सावित्री धामीले तीन विकेट लिइन् भने मनिषा चौधरीले एक विकेट लिइन् ।सुदूरपश्चिमका कुने पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मनिषा चौधरीले बनाएको ९ रन नै सुदूरपश्चिमका खेलाडीले बनाएको सबैभन्दा ठुलो स्कोर हो । अनु कठायत र पवित्रा धामीले समान ६ रन बनाए । कर्णालीका एन्जिला थापाले तीन विकेट लिइन् । श्रीमीसिंह थारू, दिक्षा पुरी र तृष्णा थापाले समान दुई विकेट लिए । विना थापाले एक विकेट लिइन् ।