श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली चौथो अभ्यास खेलमा श्रीलंका संयुक्त–११ विरुद्ध ९२ रनले पराजित भएको छ ।
श्रीलंकाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ३५.२ ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ६२ बलमा ४६ रन बनाए ।
त्यस्तै, आरिफ शेख १३, कुशल भुर्तेल ३२, रोहित पौडेल २१, सोमपाल कामी ८, आशिफ शेख ५, दीपेन्द्रसिंह ऐरी २, सागर ढकाल र विनोद भण्डारी एक÷एक रनमा आउट भए ।
बलिङमा एस दक्षिणाले सर्वाधिक तीन विकेट लिए । त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंका संयुक्त–११ ले २ सय ३२ रन बनायो । उसले आक्रामक सुरुवात गरे पनि ४८.२ ओभर मात्र खेल्न सक्यो ।
श्रीलंका–११ का लागि अनुक फर्नान्डोले सर्वाधिक ५६ रन बनाए । सन्दुन विराक्कोडीले ४९, दिलशान मुनवीराले १४, उपुल थरंगाले ३, थिसरा परेराले ८, चमारा सिल्भाले ६, दिलरुवान परेराले १४, सेकुगे प्रसन्नाले १२, कुमार स्वामीले ३० तथा निमन्थाले १८ रनको योगदान दिए ।
बलिङमा नेपाली टिममा दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३६ रन दिएर ३ विकेट लिए । त्यस्तै, सागर ढकालले ९ ओभरमा २ मेडनसहित २१ रन दिएर ३ विकेट हात पारे । सोमपाल कामीले २ विकेट, सन्दीप लामिछाने र आरिफ शेखको नाममा एक÷एक विकेट रह्यो ।
नेपालले श्रीलंका भ्रमणमा श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध दुई र श्रीलंका पुलिसविरुद्ध एक म्याच खेल्यो । नेपालले नेभी स्पोर्ट्सविरुद्धको पहिलो खेलमा १११ र दोस्रो म्याचमा ८१ रनको जित हासिल गरेको थियो । बिहीबार भएको खेलमा श्रीलंका पुलिसविरुद्ध नेपाल १४४ रनले विजयी भएको थियो ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपाली टोलीले श्रीलंकामा प्रथम श्रेणी क्रिकेट क्लबसँग चार अभ्यास म्याच खेलिरहेको हो । अभ्यास म्याचपछि नेपाली टोली १४ मार्चमा त्यहीँबाट यूएई प्रस्थान गर्नेछ ।
जहाँ नेपालले यूएईसहित पपुवा न्यूगिनीविरुद्ध एकदिवसीय सिरिज खेल्ने तालिका छ । नेपालले पहिलो खेल १६ मार्चमा पिएनजीविरुद्ध खेल्नेछ । हालसम्म नेपालले विश्वकप लिग–२ मा आठ म्याच खेलेको छ ।
जसमा नेपालले चारमा जित र चार खेलमा हार बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ । अंक तालिकाको शीर्ष तीनमा रहन सके नेपाल २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।