श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसविरुद्ध १४५ रनले विजयी भएको छ ।
जारी भ्रमणमा नेपालो यो लगातार तेस्रो जित हो । यसअघि नेपालले नेभी स्पोर्ट्सविरुद्धको पहिलो खेलमा १११ र दोस्रो म्याचमा ८१ रनको जित हासिल गरेको थियो ।
तेस्रो खेलमा नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिसले ३६.५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । बलिङमा करण केसीले चार, सागर ढकाल, सन्दीप लामिछानेले दुई÷दुई र कमलसिंह ऐरीले एक विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३३१ रन बनायो । नेपालका लागि चार ब्याटरले अर्धशतकीय पारी खेले ।
तेस्रो खेलमा रोहितकुमार पौडेल (७२), कुशल भुर्तेल (५७), करण केसी (अविजित ५३) र आसिफ शेख (५२ रन) ले अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै, कमलसिंह ऐरीले अविजित ४५, आरिफ शेखले ३५, विनोद भण्डारी, पवन सर्राफले तीन÷तीन र भीम सार्कीले दुई रनको योगदान दिए ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपाली टोलीले श्रीलंकामा प्रथम श्रेणी क्रिकेट क्लबसँग चार अभ्यास म्याच खेलिरहेको हो । नेपालले श्रीलंका भ्रमणअन्तर्गत तेस्रो खेलमा शुक्रबार श्रीलंका संयुक्त–११ विरुद्ध खेल्नेछ । खेल स्थानीय समयअनुसार बिहान १० बजेदेखि सुरु हुनेछ ।
अभ्यास म्याचपछि नेपाली टोली १४ मार्चमा त्यहीँबाट यूएई प्रस्थान गर्नेछ । जहाँ नेपालले यूएईसहित पपुवा न्यूगिनीविरुद्ध एकदिवसीय सिरिज खेल्ने तालिका छ । नेपालले पहिलो खेल १६ मार्चमा पिएनजीविरुद्ध खेल्नेछ । हालसम्म नेपालले विश्वकप लिग–२ मा आठ म्याच खेलेको छ ।
जसमा नेपालले चारमा जित र चार खेलमा हार बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ । अंक तालिकाको शीर्ष तीनमा रहन सके नेपाल २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।