नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले उसकै मैदानमा खेल खेल्ने भएको हो ।
नेपाल र थाइल्याण्डबीचको खेल २४ मार्चमा हुनेछ । तुलनात्मकरूपमा थाइल्याण्ड नेपालभन्दा बलियो टोली हो । हाल ऊ फिफा वरियताको ११२ औं स्थानमा छ । नेपाल भने अहिले १६७ औं स्थानमा छ ।
त्यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । सो खेल २७ मार्चमा हुनेछ । दुवै खेल चोनबरीमा हुनेछन् ।
एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । छनोट खेलहरू ८ जुनदेखि १४ तारिखसम्म हुनेछन् । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।
हरेक समूहका शीर्ष टोली तथा दोस्रो हुनेमध्ये उत्कृष्ट ५ टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।