ललितपुरको कोन्ज्यासुममा दुई दिने शिशुसहित पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोन्ज्यासुम गाउँपालिका–४ का ५५ वर्षीया काइली स्याङ्ताङ, २३ वर्षीया सुष्मा स्याङ्ताङ, ९ वर्षीय आशिष स्याङ्ताङ, ७ वर्षीया आश्मा स्याङ्ताङ र दुई दिने शिशु रहेका छन् ।
सोमबार सोमबार बिहान चारजना घरमै मृत अवस्थामा फेला परेको र दुई दिने शिशुको उपचारका लागि अस्पताल लिने क्रममा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
त्यस्तै, गम्भीर अवस्था रहेका २३ वर्षीय शुभ स्याङ्ताङको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनी घरमा बेहोस अवस्थामा फेला परेका थिए ।
घटनास्थलमा प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेल, फरेन्सिक डाक्टरसहितका डिएसपीको कमाण्डका एक टोली पुगेको छ ।
ललितपुर प्रहरी प्रमुख पोखरेलले घटनाको प्रारम्भिक अनुसन्धानमा उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको बताए ।
स्थानीयका अनुसार बुहारी सुष्मा सुत्केरी थिइन् । दुई दिने शिशुलाई न्यानो बनाउनका लागि उनले कोठामा आगो बालेर सुतेका थिइन् । आगो बालेर सुतेको कोठामै सबैजना मृत फेला परेका हुन् ।
उनीहरू खाना खाएर सुतेका थिए । घटनास्थलमा आगो बालेको कोइला र केही वान्ता भएको पनि देखिएको प्रहरीले जनाएको छ ।
बेहोस सुभको उपचारमा संलग्न ललितपुरको पाटन अस्पतालका डाक्टरले कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको प्रहरीलाई बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी प्रमुख पोखरेलले बताए ।