सयौँ रुसी बख्तरबन्द गाडीहरू अहिले अगाडि बढ्न नसकेको अवस्थामा रहेको अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले बताएका छन् ।
‘हाम्रो उत्कृष्ट आकलनअनुसार गत २४ देखि ३६ घण्टामा तिनीहरूले कुनै उल्लेख्य गति लिन सकेका छैनन्’, किर्बीले पेन्टागनको प्रेस ब्रिफीङमा भने ।
उनका अनुसार रुसी सैनिकहरू पुनः समूह बनाउन थालेकाले अथवा प्रगतिको समीक्षा गर्न र खेर गएको समयको क्षतिपूर्ति कसरी गर्ने भन्नेमा लागेकाले उनीहरूलाई ढिलो भएको हुनसक्छ ।
बन्दोबस्तीसम्बन्धी र निरन्तरता दिन नसक्ने चुनौती तथा युक्रेनी सेनाको प्रतिरोधका कारण पनि रुसी लस्कर अगाडि बढ्न ढिलो भएको हुनसक्ने किर्बीले बताएका छन् ।
अपुष्ट रिपोर्टहरूले सङ्केत गरेअनुसार रुसी सेनाले इन्धन र खानेकुराको अभाव झेलिरहेका छन् ।