नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।
उनीहरुबीच अहिले संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा भेटवार्ता भइरहेको छ । भेटमा एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल भइरहेको छ ।
एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा माओवादीबाट प्रचण्डका अलावा नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी छन् ।
यसअघि ओलीसँग प्रधानमन्त्री देउवाले छलफल गरेका थिए ।
एमसीसी तनाव
एमसीसी पास गर्न सत्तारुढ दल माओवादी, नेकपा एसले साथ नदिएपछि प्रधानमन्त्री देउवा एमालेसँग नजिकिएका छन् । उनी सत्ता गठबन्धन तोडेरै भए पनि एमसीसी पास गर्ने मनस्थितिमा देखिएका छन् ।
तर, एमालेले एमसीसी पास गर्न सत्ता गठबन्धन टुट्नुपर्ने, सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने तथा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने शर्त अघि सारेपछि देउवा समस्यामा परेका छन् ।
देउवाले एमालेका नेतासँगको भेटघाटलाई तीव्रता दिएर माओवादीलाई दवाव दिएपछि प्रचण्डले देउवालाई दवाव दिन ओलीसँग भेट गरेका हुन् ।
विवाद
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले एमसीसी सम्झौता संसदमा पेश गरेका थिए ।
अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची राखिएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
तर, एमसीसीका बारेमा सत्ता साझेदार दलहरुबीच विवाद छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म एमसीसीको विपक्षमा रहेको जनाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने औपचारिकरुपमै सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले एमसिसीबारे औपचारिक धारणा बनाएको छैन ।