चारदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल आयरल्याण्डसँग १६ रनले पराजित भएको हो।
नेपालले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो।
आयरल्याण्डका लागि जर्ज डोकरेलले २८, कर्टिस क्याम्फरले २०, एन्डी बिल्बार्नीले १९, लोर्कन टुकरले १५, शेन गेटकाटेले १४ र एन्डी माइकब्राइनले ११ रन बनाएका थिए।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरीले चार, अविनाश बोहोराले दुई तथा कमल ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले एक–एक विकेट लिएका थिए।
१२८ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्रै बनाउन सक्यो।
नेपालका दीपेन्द्र सिंह ऐरीले २८, आशिफ शेखले २३, कुशल भुर्तेलले १५ र कमल ऐरीले १३ रन बनाए पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।