धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानसहित खेलग्राम बनाउने निर्णय भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसहित खेलग्राम बनाउने निर्णय गरेका हुन् ।
गत माघ १० गतको मन्त्रिपरिषद बैठकको निर्णयबाट धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको ३९ हजार ९ सय १० वर्गमिटर जग्गा क्रिकेट मैदान र खेलग्राम बनाउनेगरी हस्तान्त्रण गर्ने निर्णय गरेको छ ।
सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
सरकारको यो निर्णयसँगै धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ । यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएकोछ । यसमा अन्तराष्ट्रिय क्रिकेट खेलहरु गराउन सक्नेगरी भौतिक पूर्वाधार तयार गरिने छ ।
सरकारको निर्णयको स्वागत
ड्रिम फाप्लाका अभियन्ता सुवाश शाहीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्रामलाई नेपाल सरकारले प्राथमिकताको आयोजनामा समावेश गरी ३८ बिघा जग्गा उपलब्ध गराएकोमा खुशी व्यक्त गरेका छन् ।
साथै, यो योजनालाई कार्यान्वयन गर्न उच्च स्तरीय समिति निर्माण गरेकोमा अत्यन्त गौरान्वित भएको उनले बताएका छन् । नेपाल सरकारले फाप्ला अभियानलाई गम्भीरताका साथ दिएर उत्साहित र प्रोत्साहित बनाएकोमा शाहीले प्रधानमन्त्री देउवासहित नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
उनले धनगढीको मात्रै नभइ सुदूरपश्चिमको पहिचान, सम्मान र उत्थानलाई राज्यबाट सम्बोधन भएको यो अत्यन्तै खुशी र गौरवको अवसरमा अभियानलाई कार्यान्वयनमा ल्याउन अतुलनीय भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका छन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट तथा खेलग्राम निर्माणसंगै धनगढीको कायापलट हुने र यस क्षेत्रको विकास द्रुत गतिमा अगाडि बढ्ने विश्वास लिएको शाहीले उल्लेख गरे ।
यस्तै धनगढी उपमहानगरपालिकाका मेयङ नृप बहादुर वडले समेत सो निर्णयको स्वागत गरेका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेलग्राम बनाउने निर्णय भएसँगै मेयर वडले धनगढीलाई क्रिकेटको शहरमा अन्तराष्ट्रियस्तरको मैदानको सपना पुरा भएको बताएका हुन् ।
आफ्नो चुनावी घोषणपत्रमा पनि फाप्ला मैदानलाई अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भनिएकोमा अब आएर त्यो नाराले पनि पुर्णता पाएको बताएका हुन्।
धनगढीमा मैदान र खेलग्राम बनाउने पहल भएपछि खुशी व्यक्त गर्दै अब यथार्थतमा परिणत गर्न सबैले सहयोग गर्न आवश्यक रहेको मेयर वडले बताए ।