टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि जित्न न्युजिल्यान्डले अस्ट्रेलियालाई एक सय ७३ रनको लक्ष्य दिएको छ।
टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ७२ रन जोड्यो। न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५, मार्टिन गुप्टिल २८, ग्लेन फिलिप्सले १८ रन बनाए। व्यक्तिगत २१ रनमा जिवनदान पाएका विलियमसनले ४८ बलमा तीन छक्का र १० चौका प्रहार गरे।
उनले ३२ बलमा अर्धसतक पुरा गरेका थिए। गुप्टिल र विलियमसनबीच दोस्रो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो। उनले फिलिप्ससँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। जोस हेजलउडले १८ औँ ओभरमा किफायती बलिङ गर्दै विलियमसन र फिलिप्सलाई समेत आउट गरेका थिए। त्यस ओभरमा उनले केवल पाँच रन मात्र खर्चिएका थिए। टीट्वेन्टी विश्वकपको फाइनलमा सबैभन्दा बढी रन बनाउने कप्तानका रुपमा विलियमसनले कीर्तिमान बनाएका छन्।
अस्ट्रेलियाका बलर हेजलउडले चार ओभरमा १६ रनमात्र खर्चिएर तीन विकेट लिए। एडम जाम्पाले पनि चार ओभरमा २६ रन खर्चिएर एक विकेट हात पारे। आफ्ना सुरुका तीन ओभरमा ५० रन खर्चिएका मिचेल स्टार्कले २० औँ ओभरमा बलिङमा आएर ९ रन दिएका थिए।
यी दुवै टोलीले हालसम्म टीट्वेन्टी विश्वकपको उपाधि जितेका छैनन्। सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई तथा न्युजिल्यान्डले इङ्ल्यान्डलाई समान ५ विकेटले हराएका थिए।