कलाकार किशोर भण्डारी टेलिश्रृङ्खला ‘हर्के हल्दार’ मा फर्केका छन् । उनी केही समयअघि ‘हर्के हल्दार’ बाट छुट्टिएर ‘डिट्ठा साब’ निर्माणमा लागेका थिए ।
आफ्नो छुट्टै कलाकारिता, निर्देशन र लेखनमा लागेका भण्डारी एवं डिट्ठा साब पुनः ‘हर्के हल्दार’ मा पुरानै चरित्र र जिम्मेवारी लिएर फर्केका हुन् । उनीसँगै उनको जोडी रेश्मा तिमल्सिना ‘बुनु मैचा’ पनि ‘हर्के हल्दार’ मा फर्केकी छन् ।
हर्के हल्दारमा ७७ भागसम्म रहेर बाहिरिएका डिट्ठा र बुनुमैचा ५२१ भागमा पुनः समेटिएका छन् । हर्के हल्दार टीममा आफ्नो कला र मेहनतको सही मूल्यांकन हुने पक्का भएर फर्केको कलाकार किशोर बताए । परिस्थितिका कारण छोडनुपरेको हर्के हल्दारमा फर्किन पाएकोमा आफू खुसी रहेको र अझै राम्रो काम गरेर देखाउने रेश्माले बताइन् ।
हर्केका प्रमुख पात्र विष्णु सापकोटाले सुरुकै बेलाका सदस्यहरु टीममा भित्र्याउन पाउँदा हर्के हल्दारको प्रस्तुति अझै उच्च कोटीको हुने विश्वास व्यक्त गरे ।
हर्केमा ‘बाटुली’ रोशनी सापकोटाको पनि पुनः प्रवेश भएको छ । अन्य कलाकारहरुमा सुरेन्द्र केसी ‘मूला साग’, विनोद परियार, सुशीला निरौला ‘बिमली’, शिवहरि बैरागी, इन्द्र व्दोङ ‘खम्बे’, शान्ति बस्नेत, सरु दाहाल, बिन्दा दुलाल, राजेन्द्र गिरी, सागर गिरीलगायत रहेका छन्।
प्रवेश पोखरेलको छायाँकन, सञ्जय लामाको श्रृङ्गार, राजको सम्पादन, निर्देशन सहयोगी भद्र भुजेलको रहेको हर्के हल्दारमा निर्देशन इन्द्र व्दोङ लामा ‘खम्बे’ को रहेको छ ।