स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताए ।
कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रुपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री खतिवडाले ३५० श्ययालाई स्तरोन्नति गर्दै थप ५०० श्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यकपर्ने दक्षजनशक्ति व्यवस्था गर्ने जानकारी दिए ।
मंत्री खतिवडाले प्रदेशका अत्यधिक जनताको उपचारको केन्द्रको रुपमा रहेको यस अस्पताललाई प्राथमिकतामा राखेको कारण यसको परिसरमा रु पाँच करोडको लागतमा भवन निर्माण कार्य सुचारु भइरहेको बताए । उनले सरकारले आगामी चैत मसान्तसम्म सबै नेपाली जनतालाई कोरोना खोप लगाउने लक्ष्य रहेको र त्यो लक्ष्य समयमा पूरा हुने दाबी गरे ।
उनले अमेरिकासँग एक करोड र चीनसँग ६० लाख कोरोना खोप ल्याउने सम्झौता भइसकेको जानकारी दिँदै १२ वर्षदेखि १८ वर्षसम्म उमेरका लागि खोप लगाउने तयारी भइरहेको बताए । मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिनासाथ दुई वर्षदेखि १२ वर्षसम्मकालाई खोप लगाउने कार्य सुरु गर्ने बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले अस्पतालले बिरामीको उपचार सेवा प्रभावकारी रुपमा प्रदान गरिरहेको बताउँदै दैनिक एक हजारदेखि एक हजार ५०० बिरामी अस्पतालमा आउने हुनाले तत्काल जनशक्ति थप गर्न मन्त्रीसमक्ष आग्रह गरे ।