निर्वाचनको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका—१० को मत परिणाम उल्टिएको छ ।
आइतबार गरिएको मत परिणामअनुसार स्वतन्त्र उमेदवार रमेशकुमार राय विजयी भएका छन् ।
यसअघि नेपाली कांग्रेसका अरुणकुमार चौधरीलाई गोला प्रथाबाट विजयी घोषणा गरिएको थियो । पुनः मतगणनाअनुसार रायले २६८ र चौधरीले २६६ मत ल्याएका छन् ।
मतगणना आइतबार दिउँसोदेखि उच्च अदालत जनकपुरमा भएको थियो ।
यसअघि के भएको थियो ?
०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवै उमेदवारको समान १६७÷१६७ मत आएको बताइएपछि गोलाप्रथाबाट नतिजा घोषणा गरिएको थियो ।
गोला प्रथाबाट चौधरी विजयी भएपछि पराजित उमेदवार रायले मुद्दा दर्ता गरका थिए । अदालतले विवाद रहेको ठाउँमा पुनः मतगणना गर्ने आदेश दिएको थियो ।
तर निर्वाचित घोषणा गरिएका चौधरीले उक्त फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए। सर्वोच्चले समेत सोही आदेश सदर गरेपछि जनकपुर उच्च अदालतले पुरानो मुद्दा ब्युँताएर पुनः मतगणना गर्ने मिति तोकिदिएको थियो ।
योसँगै उक्त वडामा हारेका उम्मेदवार चौधरीलाई वडाध्यक्ष बनाइएको खुलासा भएको छ ।
आइतबार पुनः मतगणना गर्दा विजयी भएका रायका अनुसार मतगणनाको अन्तिम चरणमा आएर निर्वाचिन अधिकृतको मिलिमतोमा जेनेरेटर बन्द गरेर धाँधली गरिएको थियो ।