धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा रु सात करोड बराबरको खसीबोका कारोबार भएको छ ।
कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो । असोजभरि सात हजार र दसँैमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ । समितिका व्यवस्थापक लक्ष्मण भट्ट्राईका अनुसार दसँै अगाडिका दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो ।
दसँको मुखमा रु पाँच करोडको कारोबार भएको छ । धरानमा कोशी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए ।उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ । धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ । किसानले बिहीबार नै खसीबोका ल्याउँछन् । शुक्रबार हाटमा बिक्रीवितरण गरिँदै आएको छ ।