ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरे ।
ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठपर्वका उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौँ । डलर साटेर आइसीले खरिद गरेको ग्यास विस्तापित गरौँ ।”
उनले सामाजिक एवं आर्थिक रुपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युत्को प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको उल्लेख गरे । मन्त्री भुसालले आगामी दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्दै सबै ठाउँमा ऊर्जाका रूपमा जलविद्युत्को प्रयोग गर्न आग्रह गरे ।
स्वदेशी विद्युत् खपतलाई बढवा दिने उद्देश्यले आफूले मन्त्रालय सम्हालेपछि महसुल दरमा कमी गरेको उनको भनाइ छ । मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी दिदैं आफ्नो निर्णयले ग्रामीण जनताका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । कृषि क्षेत्र मुलुकको आर्थिक आधार भएको उल्लेख गर्दै उनले खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने र त्यसका लागि आवश्यक पर्ने विद्युत्मा सहुलियत दिने नीतिलाई आफूले बढवा दिएको स्पष्ट पारे ।
उनले भने , “सबै खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउन सके, उत्पादन र उत्पादकत्व बढ्छ, वार्षिक रु दुई खर्बको कृषिजन्य आयात न्यूनीकरण गर्न मद्दत पुग्छ र व्यापार घाटा कम भई देशको आर्थिक एवं सामाजिक क्षेत्रमा योगदान दिनेछ ।” उनले त्यसका लागि आफूले नीतिगत तहबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए । मन्त्री भुसालले चाडपर्वले कर्तव्यबोध गराउने उल्लेख गर्दै परिवारिक सम्बन्धमात्र होइन घर, समाज र राष्ट्रप्रति एकताबद्ध हुन यसले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा स्थानीय जनप्रतिनिधि एवं सामाजिक नेतृत्वले नजिकिँदै गरेको चाडपर्वका अवसरमा शुभकामना व्यक्त गरेका थिए । उद्योेग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयनारायण श्रेष्ठले नगरभित्रको अव्यवस्थित विद्युतीय पोलको व्यवस्थापन र विद्युतीय संरचना सुधारमा सहयोग गर्न आग्रह गरे ।