उच्च आदालत दिपायलमा गत आर्थिक वर्षमा कूल एक हजार १५ मुद्दा दर्ता भएकामा ५६६ फछ्र्यौट भएका छन् ।
अदालतमा परेका देवानी मुद्दाअन्तर्गत लिखित बदरमा १५ मा सात मुद्दा फछ्र्यौट भएका छन् भने आठ मुद्दा फछ्र्यौट हुँन बाँकी छन् । यसैगरी विभिन्न कागजात अपुग भएका कारण ४०९ मुद्दा फछ्र्यौट हुन बाँकी छन् ।अंश मुद्दामा २२ परेकामा १३ फछ्र्यौट भएका छन् भने नौ मुद्दा बाँकी, फौजदारीअन्तर्गत जालसाजी मुद्दामा ६४ मुद्दा दर्ता भएकामा ३३ फछ्र्यौट भएका छन् भने ३१ मुद्दा बाँकी रहेका जनाइएको छ । यसैगरी रिट पुनरावलोकनमा २८ मुद्दा दर्ता भएकामा १८ फछ्र्यौैट भएका छन् भने १० फछ्र्यौट हुँन बाँकी छन् ।
वन्यजन्तुलगायतका कसुरमा कुल ४४ मुद्दामा ३३ फैसला भएका छन् भने ११ मुद्दा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । अदालतको अपहेलना, बालबालिका तथा राजस्व चुहावटमा दर्ता भएका सबै मुद्दा फछ्र्यौट भई न्याय सजायसमेत तोकिसकिएको छ । उच्च अदालतमा दर्ता भएका मुद्दामा सबैभन्दा बढी कैलाली जिल्लाका रहेको बताइएको छ ।
गत आवमा लागुऔषधका मुद्दा सबैभन्दा बढी दर्ता भएका थिए । लागुऔषध ओसारपसारदेखि सेवनका घटना गएका आवमा कूल ८६ दर्ता भएको पाइएको छ । कूल ८६ वटा लागुऔषधका मुद्दा दर्ता भएकामा ४४ वटा फछ्यौट भएको र अब ४२ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका रजिष्ट्रार रणबहादुर कटवालले जानकारी दिए । उनका अनुसार दर्ता भएका ती मुद्दामा खैरो हिरोइनदेखि गाँजा तथा चरेससम्मका छन् ।
यसैगरी दोस्रो नम्बरमा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । अदालतमा जबर्जस्तीलगायतका करणीसम्बन्धीका मुद्दा कूल १९६ दर्ता भएकामा ९९ मुद्दा फछ्र्यौट भएका छन् भने ९७ फछ्र्यौट हुन बाँकी छन् । अदालतको न्याय सम्पादनलाई चुस्त तथा थप प्रभावकारी बनाइएको कामु मुख्य न्यायाधीश तेजबहादुर कार्कीले जानकारी दिए ।
लागुऔषध नियन्त्रण गर्न यहाँका प्रहरी प्रशासनले लामो समयदेखि प्रयास गरे पनि खुला सीमाका कारण नियन्त्रण तथा रोकथाम गर्नमा समस्या हुँदै आएको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याङ्कअनुसार सुदूरपश्चिममा खैरो हिरोइन, फेन्सिडोल, ब्राउन सुगर तथा गाँजा, चरेसका सेवनकर्ता र ओसारपसार गर्नेको सङ्ख्या अधिक रहेको बताइएको छ ।