काठमाडौंको गोर्खाज फाइनान्स लिमीटेडका सञ्चाकलहरुविचको बिवाद उत्कर्षमा पुगेको छ।
फाइनान्सका सञ्चालकहरुले नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएपछी प्रशासनले संस्थाको साधारणसभा समेत स्थगित गर्न निर्देशन दिएको छ। गोर्खाज फाइनान्सका शेयर माफियाहरुले गुटबन्दी गर्दै कब्जा जमाउन खोजेको व्यहोरासहितको उजुरी जिल्ला प्रशासन कार्यालयमा परेपछी साधारणसभा स्थगित गर्न निर्देशन दिइएको हो।
आगामी २३ गतेका लागि सञ्चालक समिति चयन लगायतका एजेण्डासहित बोलाइएको वार्षिक साधारण सभा स्थगित गर्न ७१ जना शेयरधनीहरुले प्रशासन कार्यालयमा उजुरी गरेका थिए।
पछिल्लो समय केही सञ्चालक र केही कर्मचारीहरुले मनोमानी ढंगले कामकाज गरिरहेको समेत संस्थापकहरुको आरोप छ। संस्थाका संस्थापकहरु दिलबहादुर राना, टंकबहादुर लिम्बू, ज्ञानबहादुर लिम्बू, टिकाराम सुनुवार, कुमार राईसहित ७१ जना शेयरधनीले उजुरीमा हस्ताक्षर गरेका छन्।
२०७८ असार ११ गते शुक्रबार नियम मिचेर ताराचन्द्र बजगाईंको नाममा ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेपछि गोर्खाजको केन्द्रीय कार्यालय विवादमा मुछिएको थियो। नियम मिचेर गैरकानुनी रुपमा ३ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको जानकारी पाएपछि गोर्खाजलाई नेपाल राष्ट्र बैंकले समेत चिठी काटेर सो कर्जाको फाइल अनुसन्धानको लागि मगाएको थियो।