काँग्रेस सभापती शेरबहादुर देउवाको निवासमा आइतबार बिहानैदेखी विपक्षी गठबन्धनका नेताहरु जम्मा भएका छन्। उनीहरु बिहान साडे ९ बजेदेखी नै छलफलमा जुटेका हुन। संसद विघटनविरुद्ध थप रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा जुटेको बताइएको छ। राजनीतिक रुपमा केन्द्रदेखि जिल्ला तहसम्म सरकारविरुद्ध विपक्षीले मोर्चाबन्दी गरिरहेका छन्।
छलफलमा काँग्रेसका सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन्। यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी छन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सामेल भएकी छन्।
काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि काँग्रेस, माओवादी, माधव नेपाल पक्ष, जसपा उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेका थिए।तर राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबी खारेज गर्दै सरकारको सिफारिसमा गत शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि ५ दलका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटबारे आज पनि सर्वोच्चमा बहस छ।