प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसमा सभ्यता हराएको टिप्पणी गरेका छन्। शनिबार बालुवाटरमा आयोजीत एक कार्यक्रममा बोल्दै उनले कांग्रेस सभापति देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति प्रकट गरे। ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको भन्दै देउवाको आलोचना गरे।
‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ। राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन,’ ओलीले भने, ‘सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ।’
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विरोधमा शनिबार जारी भएको विज्ञप्तीमा सभापति देउवाले राष्ट्रपतिलाई तिमी भन्ने भाषा प्रयोग गरेका छन्। राष्ट्रपतिमाथि त्यस्तो भाषा बोलिएको भन्दै ओलीले देशलाई अराजकतातिर लान खोजिरहेको आरोप लगाए।
यस्तै, ओलीले नेता माधव कुमार नेपाल समुहलाई निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको आरोप लगाए। उनले नेपाल समुह प्रतिक्रियावादी शक्तिको मतियार बनेको समेत बताए। प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको बताए।
उनले भने, ‘आजपनि हामी देख्न सक्छौँ, आन्दोलनकाविरुद्ध, इतिहासमा कहीँ नदेखिएको अत्यन्तै भद्दा, नग्न, विभत्स, कुरुपताको हद पनि विभत्स, अनुशासनहिनताको, अराजकताको, र विपक्षीसँग मिलेर, विरोधीहरुसँग मिलेर, नेपालमा छरिएको, नेपालभरी फिजिँएको उज्यालोलाई निभाउने देशी, विदेशी जनविरोधी, प्रतिक्रियावादी शक्तिहरु जुन छन्, तिनीहरुको मतियार भएर, तिनीहरुको सेवक भएर निर्लज्जतापूर्वक अहिलेपनि आन्दोलनका विरुद्धमा लाग्ने तत्वहरु देखिएका छन्।’