काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अब थप समय नलिई प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका हुन्। उनका अनुसार घटनाको वास्तविकता जान्न पाउनु नागरिकको अधिकार हो भने पीडितले न्याय पाउनु आवश्यक छ।२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले टीकापुर घटनाबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर लामो समय बितिसक्दा पनि उक्त प्रतिवेदन सार्वजनिक हुन सकेको छैन।थापाले विगतमा विभिन्न सरकारले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन्। विगतको कमजोरीलाई देखाएर अहिले पनि प्रतिवेदन रोकिराख्न नहुने उनको भनाइ छ।उनले प्रतिवेदन सार्वजनिक गर्ने विषय यसपटक पनि राजनीतिक प्रतिबद्धतामै सीमित हुन नहुने भन्दै सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्नेमा जोड दिएका छन्।थापाका अनुसार प्रतिवेदन सार्वजनिक भएपछि टीकापुर घटनासँग जोडिएका विषयमा थप स्पष्टता आउने र पीडितले न्याय पाउने प्रक्रियालाई समेत सहयोग पुग्नेछ।