काठमाडौं । बाराको सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका निवासी प्रदीप खड्का रहेको प्रहरीले जनाएको छ।गरिमा भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका–१ मा मृत अवस्थामा फेला परेकी थिइन्। उनी घरबाट हराएको करिब तीन दिनपछि मृत भेटिएकी थिइन्।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकामाथि यौन हिंसा गरी हत्या गरिएको निष्कर्ष निकालिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले यसअघि पनि केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रदीप खड्कासहित हालसम्म ९ जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि घटनामा उनीहरूको संलग्नता र भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले घटनासँग सम्बन्धित थप तथ्य तथा सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान जारी राखेको जनाएको छ।