काठमाडौं । कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस र अफिमसहित पाँच जना महिलालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले सोमबार राति गस्तीका क्रममा कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरू नेपालबाट भारततर्फ जाँदै थिए।शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले उनीहरूलाई रोकेर जाँच गर्दा तीन जनाको साथबाट ५ किलोभन्दा बढी चरेस तथा ५ किलो अफिम बरामद भएको जनाएको छ। उनीहरूले चरेस कपडामा बेरेर कम्मरमा बाँध्दै भारततर्फ लैजान खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दाङको राप्ती गाउँपालिका–३ की ३४ वर्षीया रतिको साथबाट ५ किलो २२५ ग्राम चरेस, कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ४५ वर्षीया फनिसरा सारूको साथबाट ५ किलो चरेस र सोही ठाउँकी ५६ वर्षीया नन्सरी घर्ती मगरको साथबाट ५ किलो अफिम बरामद गरिएको छ।
उनीहरूसँगै रहेका दाङकी ४३ वर्षीया विमला पुन र पर्साको ठोरी गाउँपालिका–२ घर भई हाल कपिलवस्तुको विजयनगरमा बस्दै आएकी ४८ वर्षीया चुमा लामिछानेको साथबाट भने कुनै लागुऔषध फेला नपरेको प्रहरीले जनाएको छ।प्रहरीले बरामद लागुऔषधसँगै पाँच थान मोबाइल फोन समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।प्रहरीका अनुसार महिलाहरूलाई भरियाका रूपमा प्रयोग गरी लागुऔषध ओसारपसार भइरहेको हुन सक्ने भएकाले यसमा संलग्न अन्य व्यक्ति तथा सम्भावित कारोबारीको सञ्जालबारे समेत अनुसन्धान भइरहेको छ।