नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री योगेश भट्टराईले नयाँ सरकार गठनको प्रकृयामा माधव कुमार नेपाल समुहलाई साथ नदिने जानकारी गराएका छन्। माधव नेपाल पक्ष खेमाकै नेता भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ ।
नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेका थिए। त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरुको पनि सहमति नभएको जनाएको एमालेकै एक नेताले बताएका छन्।
गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डेले संसद बैठक बोलाउन भनेर संकलन गरिएको हस्ताक्षर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि बहुमत जुटाउन प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।
त्यस्तै नेताहरु घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले पनि आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै संसदीय दलका नेता ओलीलाई जानकारी गराएको स्रोतले बताएको छ।