नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारको कमजोरीका कारण महामारी नियन्त्रणबाहिर पुग्ने अवस्था आएको बताएका छन्। एक अन्र्तवार्ताको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दै महामारी नियन्त्रणमा सरकार चुकेको बताए।
महामारीका कारण मुलुक भयावह स्थितीमा पुगेको जिकीर गर्दै नेता डा. रिजालले सरकार सत्ताको खेलमा अल्झिएका कारण महामारी नियन्त्रण हुन नसकेको बताए। ‘हामीले मानवता गुमाउने बेलामा पुग्ने खतरा छ,’ उनले भने, ‘यो अवस्था ब्यहोर्नुपर्ने थिएन। नितान्त हाम्रो मुर्खताले यहाँ पुग्यौ।’
मुलुकमा पछिल्लो समय कोभिडको नाममा सत्ताको मात्र राजनिती भइरहेको नेता रिजालले टिप्पणी गरे। ‘एउटा मान्छेको बिहानदेखी बेलुकासम्म एउटा मुल उद्देश्य आफ्नो कुर्सी कसरी जोगाउने भन्ने छ,’ उनले भने, ‘यो अवसथमा काँग्रेस पनि तानियो। तिमीले सकेनौ अब हामीले सरकार चलाउछौँ भन्नुपर्यो। प्रधानमन्त्रीले गरेको ठुलो रमितामा हामीले पनि सानो–सानो रमिता सृजना गर्न थाल्यौ।’
प्रधानमन्त्री ओलीको असंवेदनशिलताका कारण महामारी नियन्त्रणमा आउन नसकेको दोहोर्याउदै नेता रिजालले थपे, ‘महामारी थेग्ने अवस्थामा छैनौ भन्दाखेरी प्रधानमन्त्रीले निरन्तर इन्कारको राजनिती गर्नुभयो।’
नेता डा. रिजालले प्रतिपक्षी दल पनि महामारीप्रति संवेदनशील नभएको स्विकार गरे। ‘हाम्रा कोशिसहरु यो भन्दा राम्रो हुनुपर्थ्यो। यो भन्दा बढी गर्नुपर्थ्यो। हामीबाट अपेक्षा पनि थियो। तर, यो एक वर्षभरी हामीले सत्ताको बाहेक केहि खेल गरेनौ नि त’ उनले भने।
नेता रिजालले प्रमुख प्रतिपक्षी दलको हैसियतले यी सब अवस्था आउनुको दोष आफुँहरुले पनि लिने बताए। उनले भने, ‘हामीलाई पनि दोष लगाउनुस, म मेरो अंशको दोष पार्टीको अंशको दोष, बिपक्षको अंशको दोष स्विकार्न तयार छु।’
नेता डा. रिजालले यो अवस्थामा सरकारलाई सघाउन आफुँहरु तयार रहेको बताए। ‘हामी हरेक रुपमा सहयोग गर्न तयार छौ,’ उनले भने, ‘त्यसको लागि राज्यको संरचनाहरुलाई परिचालन गर्नुपर्यो।’ नेता रिजालले महामारी नियन्त्रणका लागि संघियताको सहि रुपमा उपयोग गर्नुपर्नेमा समेत जोड दिए।
नेता रिजालले अझै पनि सबै राजनितीक शक्तिहरु एक भएर लाग्न सके अवस्था नियन्त्रणमा आउन सक्ने औल्याए। उनले भने, ‘अब सकीयो भनेर हामी धरहरामाथी चढेर हामफाल्ने बेला भएको छैन। तर, यी कुराहरु सच्चिनुपर्छ।’