सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो बैठक सकिएको छ। बैठकपछी कार्यदलले पार्टीमा बिरोध चर्किने खालका कार्यहरु नगर्न सबैमा आग्रह गरेको छ। पार्टी एकताको बिषयमा अविश्वासको वातावरण बन्न नदिन कार्यदलले यस्तो अपिल गरेको हो।
पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको नेता भीम रावलले जानकारी दिए। सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको रावलले जानकारी दिए ।
‘पार्टीमा देखिएको समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग, सद्भावका लागि आग्रह गरेको छ,’ बैठकपछि रावलले भने, ‘त्यसका साथसाथै पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको छ ।’
बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको पनि नेता रावलले बताए। कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेता माधवकुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
तर, काम विशेषले गर्दा आजको बैठकमा नेता पोखरेल र पौडेल सहभागी हुन नसकेको रावलले बताए। बैठक बुधबार पनि बस्ने भएको छ।