नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।
प्रचण्ड र नेपाल बुधबार दिउँसो देउवा निवास बुढानीलकण्ठ पुगेका हुन्। सर्वोच्च अदालतले संसद् विघटन बदर गरिदिएपछि आगामी रणनीति तयार गर्ने विषयमा छलफल गर्नका लागि प्रचण्ड र नेपालले देउवालाई भेटेका हुन्।
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि चितवनमा तय गरिएको प्रचण्ड नेपाल पक्षको विरोधसभा विजयोत्सवमा परिणत गरिएको हो। उक्त सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्ड र नेपाल सभालाई सम्बोधन नगरी काठमाडौं फर्किसकेका छन्।
एकाएक राजनीतिक माहोल फेरिएसँगै हुने भनिएको यस भेटलाई विशेष चासोका साथ हेरिएको छ। भेटमा नेताहरूबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।