काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले प्रसारण क्षेत्रले बदलिँदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको सहआयोजनामा एसिया–प्रशान्त प्रसारण विकास संस्था (एआईबीडी) को २४औँ साधारणसभा तथा एसिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालाको सोमबार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री तिमल्सिनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्र सीमित राख्न नहुने स्पष्ट पारे।
कार्यक्रममा बोल्दै उनले डिजिटल प्रविधि, मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रिमिङ, पोडकास्ट, कृत्रिम बौद्धिकता (ब्क्ष्) तथा तथ्याङ्कमा आधारित सञ्चारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको बताए। नेपालको सामुदायिक रेडियो अभ्यासलाई प्रसारण क्षेत्रको विशिष्ट उपलब्धिका रूपमा चित्रण गर्दै मन्त्री तिमल्सिनाले सामुदायिक रेडियोहरू केवल स्टेशन मात्र नभई स्थानीय लोकतन्त्रका संवाहक र नागरिकका साझा सम्पत्ति भएको उल्लेख गरे। राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा सामुदायिक रेडियोले स्थापनाकालदेखि नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो।
उद्घाटन सत्रमा एआईबीडीका महासचिव फिलोमिना प्रागसम, सार्कका महासचिव गोलाम सरवार, अकोराब नेपालका अध्यक्ष अर्जुन गिरी र सार्वजनिक सेवा प्रसारण (पीएसबी) का कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले सम्मेलन र कार्यशालाले प्रसारण जगतका चुनौती सामना गर्न तथा क्षेत्रीय सहकार्य बढाउन ठूलो योगदान पु¥याउने बताए। हिजोदेखि सुरु भएको कार्यशालामा संसद्मा पारदर्शिता, समाचारमा तथ्य जाँच, एआईको प्रयोग, बालबालिकाको डिजिटल सुरक्षा र बाल पोषण जस्ता विषयमा छलफल भइरहेको छ। सम्मेलनमा विभिन्न ४० देशका ५० भन्दा बढी प्रसारण विज्ञ तथा नेपालका तर्फबाट १०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ।