काठमाडौं । आकर्षक तलबसहित विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएर रकम असुली गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा झापाकी २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुलीकी २८ वर्षीया करिना देवकोटा, झापाका २७ वर्षीय साजन खनाल, दोलखाका ३४ वर्षीय पेमा लामा र ओखलढुङ्गाकी २७ वर्षीया तोमकुमारी थापा छन्। प्रहरीका अनुसार सुष्माले चेक रिपब्लिक पठाइदिने भन्दै एक व्यक्तिबाट ५ लाख ३५ हजार रुपैयाँ, करिनाले लिथुआनिया पठाउने भन्दै २ लाख ५० हजार रुपैयाँ, साजनले फिनल्यान्ड पठाइदिने भन्दै १२ लाख रुपैयाँ, पेमाले रोमानिया पठाउने भन्दै १ लाख रुपैयाँ र तोमकुमारीले माल्टा पठाइदिने भन्दै १ लाख ३५ हजार रुपैयाँ लिएको उजुरी परेको थियो।
रकम लिएपछि सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी सुष्मालाई बूढानीलकण्ठ नगरपालिका–१०, करिना र साजनलाई काठमाडौं महानगरपालिका–३, पेमालाई काठमाडौं महानगरपालिका–१२ तथा तोमकुमारीलाई काठमाडौं महानगरपालिका–१५ बाट नियन्त्रणमा लिइएको हो। प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।