काठमाडौं । काठमाडौँ उपत्यका मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग छिट्टै भेटेर विभिन्न समस्या समाधानका लागि पहल गर्न आग्रह गर्ने निर्णय गरेको अध्यक्ष चिरीबाबु महर्जनले जानकारी दिए। फोरमका अनुसार प्रधानमन्त्रीसँगको भेटमा उपत्यकाको फोहोर व्यवस्थापन, सडकबत्तीको शुल्क, स्थानीय तहले प्रयोग गर्दै आएका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्था लगायतका विषय उठाइनेछ। बैठकले गत भदौ ५ गते सिंहदरबारमा फोहोर व्यवस्थापनबारे भएको छलफलका क्रममा रास्वपाकी सांसद आशिका तामाङले फोरमका पदाधिकारी तथा सदस्यहरूप्रति गरेको व्यवहारप्रति समेत आपत्ति जनाएको छ।
काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको साझा संस्था रहेको फोरमले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि यसअघि पनि पटक–पटक छलफल गर्दै आएको जनाएको छ। फोरमले प्रधानमन्त्री शाह काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदादेखि नै तत्कालीन सरकार र नेप वेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता कार्यान्वयन गर्न वा सम्झौता खारेज गरेर दीर्घकालीन समाधानको बाटो खोल्न माग गर्दै आएको जनाएको छ।अध्यक्ष महर्जनद्वारा जारी विज्ञप्तिमा उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा जिम्मेवारी र सरोकारको विषय भएकाले यसको स्थायी समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।