विश्व फुटबलका आदर्श पुरुष डिएगो म्याराडोनाको मृत्युमा आशंका पैदा भएको छ। म्याराडोनाको उपचारमा चिकित्सकको लापरवाही भएको हुन सक्ने आशंकामा प्रहरीले उपचारमा संलग्न डाक्टर लिओपोल्डो लुकको घर र निजी क्लिलिनमा छापा मारेको छ।
६० वर्षको उमेरमा हृदयघातका कारण मंसिर १० गते म्याराडोनाको निधन भएको थियो। म्याराडोनाका उपचारमा उनका निजी चिकित्सक लुकको भूमिका शंकास्पद रहेको बताइएको छ।
म्याराडोनालाई क्लिनिकबाट डिस्चार्ज गरी घर लगिएको बेला डिस्चार्जका प्रक्रियाहरु पूरा नभएको प्रहरीले जानकारी दिएको छ। जस्तै, उनको साथमा लागुपदार्थ सम्बन्धी विशेषज्ञ नर्सको टोली नपठाइएको, डाक्टरको अन–कल उपस्थितिको व्यवस्था नहुनु तथा डेफिब्रिलेटरसहितको एम्बुलेन्सको व्यवस्था नगरिएको कारण चिकित्सककाे लापरवाही भएको हुन सक्ने प्रहरीको अनुमान छ।
डाक्टर लुकले उपचारमा लापरवाही भएकाे कुरा अस्वीकार गरेका छन्। आइतबार पत्रकार सम्मेलनमा रुँदै लुकले आफ्नो साथी म्याराडोनालाई बचाउन हर प्रयास गरेको जानकारी दिएका छन्।
उनले पछिल्लो समयमा म्याराडोना निकै चिन्तित रहेको बताउँदै म्याराडोनाको घरमा तयार गरिनुपर्ने स्वास्थ्य व्यवस्था आफ्नो जिम्मेवारी नभएकाे जानकारी दिए।