तेहरान– कोरोना भाइरसकोे महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन् । इरानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार इरानमा कोरोनाका कारण एकैदिनमा ३३७ जनाको मृत्यु भएको छ । इरानमा यसअघि एकै दिनमा २७९ जनाको कोरोनाका कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयसँग रहेको थियो ।
मन्त्रालयले पछिल्लो एकैदिनमा इरानमा ४ हजार २५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको पनि जनाएको छ । योसँगै इरानमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या ५ लाख ३५ हजार ६३० पुगेको छ ।