काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ।
सिंहदरबारस्थित संसद् भवनमा बस्ने बैठकमा समुद्री जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संयुक्त राष्ट्रसंघीय समुद्री कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण र दिगो उपयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। उक्त सम्झौताले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर रहेका समुद्री क्षेत्रका जैविक स्रोत तथा विविधताको संरक्षण र दिगो प्रयोगसँग सम्बन्धित विषय समेटेको छ। प्रतिनिधिसभाको बैठकमा सम्झौताका प्रावधानमाथि छलफल अघि बढाइनेछ।