हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ । हुम्लाका सात गाउँपालिकामध्ये पाँच पालिका गाडीले छोएका छन् भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी छ ।
कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भएलगत्तै अदानचुली–२, ३, र ४ मा गत वर्ष फागुनमा गाडी पुगेको थियो भने ताँजाकोट–४ र ५ मा आइतबार गाडी पुगेको हो । भौगोलिक रुपले विकट हुम्ला बिस्तारै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । बाजुरा हुँदै हुमलाको ताँजाकोट र अदानचुलीमा गाडी पुगेपछि यहाँका बासिन्दा खुसी भएका छन् ।
कर्णाली करिडोरअन्तर्गत सडक निर्माण भएपछि पछिल्लो चरणमा यहाँका पालिका सडक सञ्जालले छुने क्रम बढ्दै छ । सर्केगाड र चंखेली गाउँपालिकामा सडक पुग्न बाँकी छ भने नाम्खा, सिमकोट, खार्पुनाथ,अदानचुली र ताँजाकोट गाउँपालिकामा गाडी पुगेका छन् । काठमाडौं, केरुङ, हिल्सा हुँदै नाम्खा भएर सदरमुकाम सिमकोट गत वर्ष खाद्यान्न लिएर ट्रक पुगेका थिए ।
माथिल्लो क्षेत्रका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा एकदेखि अर्को पालिकासमम गाडी सञ्चालन हुँदै आएका छन् । ताँजाकोट– ४ पुईमा खोला हुँदै ताजाकोट– ४ र ५ मा गाडी पुगेपछि स्थानीय हर्षित भएका छन् । गाउँमा गाडी पुगेसँगै उद्घाटन कार्यक्रमसमेत गरिएको ताँजाकोट– ४ का प्रदीप बोगटीले बताए ।
यसभन्दा पहिला पैदल हिँडेर बाजुरा जिल्लासम्म पुग्ने गरेका स्थानीय अब घरबाटै गाडी चढेर बाजुरा तथा अन्य जिल्ला आवतजावत गरिरहेका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको ५० लाख बजेटमा सडक निर्माण गरिएको हो ।