बाग्मती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) वितरण गर्ने तयारी भइरहेको जनाइएको छ । कार्यालयका अनुसार अब बाग्मती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण हुने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले जानकारी दिए ।
प्रदेश यातायात सेवा कार्यालयले साउनको पहिलो हप्तादेखि असोज २२ गते अपराह्नसम्ममा विभिन्न जिल्लाको गरी सवारी चालकको पुरानो र नयाँ गरी १२ हजार ५४५ वटा अनुमति पत्र (स्मार्टकार्ड) सेवाग्राहीलाई वितरण गरिएको सो कार्यालयका प्रमुख भक्तबहादुर थापाले जानकारी दिए ।
संघीय सरकारद्वारा कोभिड–१९ को सङ्क्रमणको अवस्थामा बन्दाबन्दी र निषेधाज्ञाको कारणबाट यातायात सवारी साधनको दर्ता, नवीकरण, जाँचपास गर्ने क्रम अवरुद्ध हुँदा लाग्ने जरिमाना बाग्मती प्रदेश सरकारले अगामी कात्तिक मसान्तसम्म म्याद थप गरी छुट गर्ने निर्णय गरेको प्रदेश यातायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर थापाले बताए । प्रदेशको उपत्यकाबाहेक १० जिल्लाका यातायात व्यवसायीहरुको साथै निजी सवारीसाधन प्रयोगकर्ताहरुलाई दैनिक सेवा प्रवाह गर्न आवश्यक कर्मचारी जनशक्तिको अभाव रहेकाले तुरुन्तै सेवा दिन समस्या भएको उनको भनाइ थियो ।
कार्यालयको पूर्ण क्षमताअनुसार कामकाज गर्न थप ४२ जना कर्मचारीको दरबन्दी उपलब्ध गराउन बाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा माग गरिएको र आवश्यक प्रक्रिया शुरु भइरहेको पनि उनले बताए । गत भदौ १५ गतेसम्ममा कूल १० हजार २९४ वटा स्मार्ट कार्ड छपाइ गरी ल्याइसकेको कार्यालयले जनाएको छ ।