काठमाडौं– नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंमा नयाँ नोट सटही नगर्ने जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण हरेक वर्ष दसैंका लागि सटही हुने नयाँ नोट यो वर्ष नगर्ने निर्णय गरेको नेपाल राष्ट्र बैंकले बताएको छ ।
दसैं लक्षित नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाईन, भिड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले यो वर्ष नयाँ नोट सटही नगर्ने निर्णय गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणराज भट्टले जानकारी दिए । तर, आफ्नो बैंक खातामा भएको पैसा निकाल्दा भने केही सुकिला नोट पाउने व्यवस्था गरेको उनको भनाई छ ।
यसअघिका वर्षहरुमा नयाँ नोट सटहीका लागि सर्वसाधारणको ठूलो भिड लाग्ने गरेको थियो । राष्ट्र बैंकले दसैंका लागि भनेर ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोटहरु सटही गर्दै आएको थियो । यो वर्ष बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोरोना संक्रमणको जोखिमका कारण सटही सम्भव नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।