काठमाडौं– पाँचथर जिल्लाको राँके स्थायी घर भएका कृष्णकुमार नेम्वाङ दम्पती रोशी गाउँपालिका वडा नं ९ रजबासमा असेर खुवा घोट्ने काम गर्दै आएका छन् । एक वर्ष अगाडिदेखि काम गर्दै आएका उनीहरुको काम दैनिकरूपमा दूध भर्ने र खुवा घोट्ने हो । पहिला पनि मजदुरी नै गरेर जीवन गुजारा गर्दै आएका उनीहरु रजबासकै स्थानीयसँग चिनजान भएपछि कामको सिलसिलामा सो ठाउँमा आइपुगेको बताउँछन् ।
अहिले नेम्वाङ दम्पती घोटेको खुवा व्यवस्थित ढङ्गले राख्ने, दूध घोट्ने र दाउराको व्यवस्थापन गर्न लगाउने हो । ‘कहिलेकाहीँ अलि लामो समयसम्म गाडी नचलेको बेला चुर्पी बनाएर सुकाउने गर्नुपर्छ’ उनले भने, ‘अहिलेसम्ममा काम राम्रै चलिरहेको भए पनि कोरोनाको कारण बजारीकरणमा समस्या भएको भन्ने कुरा आएको छ ।’ खुवा उत्पादन केन्द्रमा खासै समस्या नभए पनि बिक्रीका लागि समयमा व्यवस्था नहुँदा समस्या निम्तिने गरेको उनले बताए । खुवा केन्द्र सञ्चालक अनेत्र बसे पनि आफूहरुले कोरोना कहरकै बीचमा काम गरिरहेको बताऐ । सो ठाउँमा दैनिक १०० लिटरदेखि १५० लिटरसम्म दूध सङ्कलन हुने गरेको नेम्वाङले बताए ।
रोशी गाउँपालिका वडा नं ३ मसराङ्गी घर भएका राजकुमार थापा मगरले सो ठाउँमा दुई वर्ष अगाडिदेखि खुवा केन्द्र सञ्चालन गर्दै आएका छन् । केन्द्र सञ्चालनसँगै केही व्यक्तिलाई रोजगारीसमेत दिँदै आएका उनी पछिल्लो समयमा कोरोना महामारीको समस्याका कारण व्यवसाय सङ्कटमा परेको बताउँछन् ।
कोरोना सङ्क्रमणकै कारण विसं २०६० देखि आफ्नै गाउँ मसराङ्गीमा सञ्चालन गर्दै आएको खुवा उत्पादन केन्द्र बन्द भएको सात महिना भएको उनले बताए । उत्पादन भएको खुवा बजारसम्म लैजाने माध्यम नभएको र कहिलेकाहीँ बजारसम्म लगे पनि बिक्री वितरणमा समस्या आएपछि बन्द गर्नुपरेको थियो । उत्पादन भएको खुवा नियमितरूपमा बनेपामा ठेकेदारलाई दिने गरेको भए पनि बजार ठप्प भएका कारण पछिल्लो समयमा बिक्री नै नभएको उनको भनाई छ ।
सो ठाउँमा पनि उनले दैनिक खुवा घोट्ने दुई जनासहित दाउरा ओसार्नेहरु गरी चार/पाँच जनालाई रोजगारी दिँदै आएका थिए । खुवा उत्पादन बन्द भएसँगै पाँच जनाको रोजगारीसमेत गुमेको छ ।
जिल्लाको विकट गाउँमा व्यवस्थापनको हिसाबले दूध डेरीभन्दा खुवा व्यवसाय फस्टाएको छ । दूध डेरीमा भन्दा खुवा उत्पादन केन्द्रमा ६० पैसा बढी दिए पनि किसान खुशीका साथ खुवा बनाउने ठाउँमा दूध बेच्ने हुँदा खुवाको बजारीकरणको समस्याले व्यवसायी सङ्कटमा परेको बताउँछन् ।