काठमाडौं– गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक विक ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट पुगी घाइते भई उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते भएका छन् ।
घाइते गुरुङलाई जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घाइते गुरुङलाई खुट्टालगायत शरीरको विभिन्न भाग झमझमाउने र दुख्ने भइरहेको छ । घाइते गुरुङको उक्त अस्पतालमा उपचार भइरहेको छ ।