काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आउँदो मंसिरसम्ममा पार्टी सदस्यताको नवीकरण गर्ने भएको छ ।
पार्टी कार्यालय धुम्बारहीमा बसेको बैठकले स्थायी कमिटीले गरेको निर्णय अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रका पार्टी सदस्यता नविकरण मंसिर महिना भित्रमा सक्ने निर्णय गरेको संगठन विभागका सदस्य खगराज भट्टले बताएका छन् ।
२६ गते बसेको नेकपाको स्थायी कमिटीले मंसिर भित्र पार्टी सदस्यता नवीकरणको काम सक्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि पार्टीको संगठन विभागले पनि सदस्यता नवीकरण मंसिरमा गरिसक्ने निर्णय गरेको हो । संगठन विभागलाई पनि अब छिटै पूर्णता दिने निर्णय भएको भट्टले बताए ।
पार्टीका कयौ जिल्ला र प्रदेशका विवादहरु पनि मापदण्ड बनाएर हल गर्ने उनले बताए । नेकपाको स्थायी कमिटीले अगामी चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । संगठन विभाग प्रमुख उपाध्यक्ष वामदेव गौतम तथा उपप्रमुखमा जनार्दन शर्मा रहेता पनि संगठनमा अन्य सदस्यहरुले पूर्णता पाएका छैनन् ।