काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताएका छन् ।
जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसमा यहाँ उहाँले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने बताए ।
“पार्टीमा अब विवाद छैन, स्थायी समिति बैठक पनि बस्दैछ, एकता सुदृढ बन्छ”, नेता पौडेलले भने, “शहीदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध गर्नुको अर्को विकल्प छैन ।”
गणतन्त्र स्थापनादेखि पछिल्लो राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानलाई कसैले पनि कम आँक्न नहुने उनको भनाइ छ ।
“कसैले हिजोको आन्दोलन र बलिदानलाई लिएर तुच्छ टिप्पणी गरेको हामी पाउँछौँ, त्यो अल्पज्ञान हो”, उनले भने, “जनयुद्ध समाज रुपान्तरणका लागि लिइएको सचेत पहलकदमी थियो ।”
बागलुङ–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता पौडेलले शहीद वाग्लेलाई दृढ इच्छाशक्ति भएको क्रान्तिकारी व्यक्तित्वका रुपमा स्मरण गरे ।
पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य रहेका गोरखाका वाग्ले र अर्का नेता पोखरेललाई पार्टी कामका सिलसिलामा हिँडिरहेका बेला आजकै दिन विसं २०५६ मा प्रहरीले हत्या गरेको थियो । रासस