टेक्सस– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अनलाइन माध्यमबाट आजदेखि सुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गरेका छन् ।
उनले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानी मात्र होइन, गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको बताए । मन्त्री ज्ञवालीले जनताको बलिदानबाट प्राप्त लोकतन्त्र सुदृढ हुने दिशामा अगाडि बढिरहेको अवस्थामा केही विषयहरु ‘अप्स एन्ड डाउन’ भयो भनेर आत्तिहाल्न नहुनेमा जोड दिए ।
‘व्यवस्था मात्रै लोकतान्त्रिक भएर नहुँदो रहेछ, यसको प्रभावकारिताका लागि यससँग सम्बन्धित दल, नेता, जनता सबै लोकतन्त्रवादी हुनुपर्ने रहेछ,’ मन्त्री ज्ञवालीले भने, ‘यो क्रम भइरहेको छ । यसले समय लिन्छ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।’
ज्ञवालीले अप्रत्याशित विपत्तिबाट देशमा या विदेशमा रहेका नेपाली जनतालाई जोगाउनका लागि सरकारले काम गरिरहेको बताए ।
मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको र त्यसका लागि आवश्यक विधेयक तथा कानुन निर्माणको प्रक्रिया अबका दिनमा अघि बढ्ने जनाए ।