काठमाडौं– चक्रपथको दोस्रो चरण (कलंकीदेखि चावहिलसम्म) विस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक बिस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ ।
चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि कलंकीसम्म विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड विस्तार गर्ने भएको छ । ११ दशमलव छ किलोमिटर सडकको विस्तारका लागि निर्माणस्थल खाली गरिएको हो । चिनियाँले यसअघि नै सडक निर्माणको पूर्वअध्ययन गरिसकेको छ ।
- महाराजगञ्ज क्षेत्रमा २० घर हटाउनुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको काठमाडौं चक्रपथ योजनाका प्रमुख अमृतमणि रिमालले बताए ।
सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतको पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै सो सडकमा रहेका २ हजार १०० रुख काटिएको छ । सडकको मुख्य भागबाट दुवैतर्फ ३१/३१ मिटरभित्र पर्ने केही घर हटाउन बाँकी छ ।
महाराजगञ्ज क्षेत्रमा २० घर हटाउनुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको काठमाडौं चक्रपथ योजनाका प्रमुख अमृतमणि रिमालले बताए । कतिपय स्थानीयले विरोध गरे पनि मुआब्जा दिइने भएकाले समस्या नहुने उनको भनाइ छ । उनका अनुसार सो घर भत्काउन आयोजनाले नै मूल्यांकन गरेर मुआब्जा दिने प्रक्रिया अघि बढाएको छ ।
उनले भने, अवस्था केही सामान्य भएपछि नै थप काम अघि बढ्नेछ ।’
स्वयम्भूमा रहेको एउटा स्तूपा सडकको अधिकर क्षेत्रमा रहेकामा त्यसलाई पनि सारिने भएको छ । स्तूपाको निर्माण गर्दा नै सडकको अधिकार क्षेत्रमा भएकाले अहिले सार्नुपर्ने अवस्था आएको प्रमुख रिमालले बताए । काठमाडौं महानगरपालिकाले सो स्तूपा सार्ने जिम्मेवारी लिइसकेको छ ।
चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनुपहिले नै निर्माण शुरु भएको थियो । सडक निर्माण शुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन । एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने त अर्कातर्फ सडकमा रहेका घर टहरा नहट्दा निर्माणमा ढिलाइ भएको थियो । २०७१ मा शुरु भएको सडक निर्माण २०७२ मा नेपालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा प्रभावित बनेको थियो ।