भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ ।
कलेजले आवश्यक कीट उपलब्ध गराएमा १० हजार नमुना निः शुल्क परीक्षण गर्ने जनाएको थियो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भरतपुर प्रयोगशालामा चाप बढ्दै गएर नतिजा आउन ढिलाइ भएपछि मेडिकल कलेज पठाएको बताए ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आवश्यक रिएजेन्ट उपलव्ध गराएमा आफुहरुले १० हजार नमुना परीक्षणमा अन्य शुल्क नलिने बताए । अहिले अस्पतालले रिएजेण्ट उपलव्ध नगराइ पत्र पठाएर परीक्षण गर्न अनुरोध गरे पछि काम थालेको जनाइएको छ ।
मेडिकल कलेजको प्रयोगशाला स्वचालित रहेको छ भने भरतपुर कोभिड प्रयोगशाला म्यानुअयल हो । भरतपुर कोभिड प्रयोगशालाले ६ घण्टामा ९६ वटा नमुना परीक्षण गर्न सक्छ भने मेडिकल कलेजको प्रयोगशालाले त्यति नै समयमा ४ सय वटा नमुना परीक्षण गर्न सक्छ । भरतपुर कोभिड १९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले यसअघि प्रयोगशालामा चाप हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्यस मार्फतका सरकारी प्रयोगशालामा पठाइएकोमा अहिले मेडिकल कलेज पठाइएको बताइन् ।
भरतपुर कोभिड १९ प्रयोशालाले कोरोना परीक्षणको नतिजा मोबाइलबाटै पठाउने भएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीका अनुसार प्रयोगशालामा सफ्टवेयर जडान गरी परीक्षणको काम भइसकेकाले सम्भवतः आजदेखि मोबाइलमा नै नतिजा पठाइनेछ ।
प्रयोगशालामा हालसम्म २१ हजारभन्दा बढी नमुना परीक्षण गरिएको छ । तीमध्ये १६ हजार चितवनको मात्र रहेका छन् ।