कोभिड–१९ संक्रमण बढ्न नदिन प्रदेश २ का सबैजसो जिल्ला प्रशासन कार्यालयमा निषेधाज्ञा जारी छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले संक्रमण प्रभावका आधारमा निषेधाज्ञा अवधि थप्दै लगेका छन् । यद्यपि यसैबीच कोभिड–१९ संक्रमण र यसबाट मर्नेको संख्या ह्वात्तै बढेको छ ।
भदौयताका १७ दिनभित्रै कोरोनाबाट ५० जनाको मृत्यु भएको छ । साउनमा ४२, असारमा १ र जेठ २ जनाको मृत्यु भएको थियो । मृतकमध्ये पर्साका सर्वाधिक ३६ जना छन् । यसैगरी बाराका १५, धनुषाका १२, महोत्तरीका १०, सिरहाका आठ, सप्तरीका ६, रौतटहका ५ र सर्लाहीका तीनजनाको मृत्यु भएको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।
प्रदेशमा संक्रमितको संख्या १० हजार ५५६ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये १ हजार ८९७ असारमा, १ हजार ९१९ जेठमा, ९२ जना वैशाखमा र तीनजनामा चैतमा संक्रमण पुष्टि भएको हो ।
कोभिड–१९ संक्रमण बढ्न नदिन सबैभन्दा मुख्य कुरा शारीरिक दूरी निर्वाह अत्यन्त महत्त्वपूर्ण रहेको स्वास्थ्य विज्ञ बताउँछन् । मास्कको प्रयोग, व्यक्तिगत सरसफाइ, सन्तुलित आहार र आराम सङ्क्रमणबाट बच्ने उपाय हुन् ।
प्रदेशमा पछिल्लो समयमा लापरवाहीका कारण संक्रमण ह्वात्तै बढेको स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउनुहुन्छ । ‘स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनको आग्रह, अनुरोध अवज्ञा गर्ने आम प्रचलन बढेको छ,’ झाले भने, ‘यो अवस्था ठिक लिकमा ल्याउन तत्काल राजनीतिक दल र स्थानीय तहका प्रतिनिधिले पहलकदमी लिनु पर्छ ।’