काठमाडौं– धवलागिरि आधार शिविर नजिकै रहेका हिमबहादुर छन्त्यालका हरेक भेडीगोठमा कम्तीमा दुई वटा कुकुर छन् । भेडीगोठका हेरालुका लागि कुकुर नै सारथी हुन् । जङ्गल र पाखा पखेरमा गोठ रहने भएकाले जङ्गली जनावरबाट भेडाबाख्रा र गोठकोसमेत सुरक्षाको प्रमुख जिम्मेवारी कुकुरकै रहने गर्छ ।
भेडीगोठमा ‘भोटे’ जातको कुकुरलाई विशेष महत्व दिएर पाल्ने गरिन्छ । आवाज ठूलो हुने, जङ्गली जनावरसँगसमेत नडराउने भएकाले भेडीगोठका लागि भोटे कुुकुर पहिलो रोजाइमा पर्छ । गोठमा कुकुरलाई स्याहारसुसार र आहारमा समेत बढी ध्यान दिनुपर्ने गोठालालाई थप जिम्मेवारी हुन आउँछ ।
गोठदेखि चरन क्षेत्रसम्म कुकुरले नै भेडाबाख्रालाई पछ्याएर जाने गर्छन् भने बेलुकी आफ्नै गोठमा फर्किएर सुरक्षा दिने कुकुरमा थप रोचक विशेषता रहेको हुन्छ ।