काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
‘तपाईंहरुको निरन्तरको साथ, सहयोग, समर्थन र सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो ऊर्जाले कोरानालाई परास्त गर्न मलाई थप हौसला प्राप्त भएको छ । म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु ।’
कोरोना कसरी ?
उनी कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ खटिएका थिए । उनले भने, ‘कार्यक्षेत्रमा खटिरहेको अवस्थामा मलाई संक्रमण पुष्टि भएको छ ।’
आइतबार उनकी धर्मपत्नीलाई एक सय डिग्रीभन्दा बढी ज्वरो देखिएको र दुवै जना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेका थिए । परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिएका छन् ।
- उनले भने, ‘मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो । धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ ।’
उनले भने, ‘धर्मपत्नीको परीक्षणसँगै दुवैको स्वाब दिएपछि हामी स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होम आइसोलेसनमा बसेका थियौं ।’
‘सोमबार उनीहरुको पिसिआर रिपोर्ट आएको थियो । उनले भने, ‘मेरो पोजेटिभ रिपोर्ट आएको खबर प्राप्त भयो । धर्मपत्नीको भने नगेटिभ देखिएको रहेछ ।’
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले भने, ‘अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको जानकारी गराउन चाहन्छु ।’
होम आइसोलेसनबाटै काठमाडौँ महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
‘कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन । यस्तो अवस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा–प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु,’ उनले भने, ‘काठमाडौं महानगरपालिका र उपत्यका नगरपालिका फोरमका दैनन्दिन कामलाई निरन्तर अघि बढाउन प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
उनले स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न अनुरोध गरेका छन् ।
शाक्यको सहभागिता
भाद्र ८ गते उपत्यकाका नगरपालिका फोरमको बैठकमा सहभागी भएका थिए उनी । फोरमका अध्यक्षका हैसियतले सहभागी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य विभागका महानिर्देशक दीपेन्द्र रमण सिंह, विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे, मध्यपुर ठिमी मेयर मदनसुन्दर श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत सहभागी थिए ।
भदौ ११ गते उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, गृह सचिव, स्वास्थ्य सचिव तथा उपत्यका नगरपालिका फोरमका पदाधिकारीहरुबीच रक्षा मन्त्रालयमा भएको बैठकमा पनि उनी सहभागी थिए । बैठकमा काठमाडौं, ललितपुर र मध्यपुर थिमि नगरप्रमुखबीच एकीकृत क्वारेन्टिइन, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ, उपचार खर्च लगायतबारे छलफल भएको थियो ।
- ‘कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन । यस्तो अवस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा–प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु,’ उनले भने ।
भाद्र १२ गते उनी रानीपोखरी पुनर्निर्माण कार्यको अनुगमन गर्ने क्रममा रानीपोखरी भ्रमण गरेका थिए । भ्रमणमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहित सहभागी भएका थिए । यसबाहेक उनी कार्यालयका दैनिक गतिविधिमा संलग्न थिए ।
यसबाहेक उनी नियमित कार्यालय जाने र सानातिना भेटघाट, आइसोलेसन सेन्टरहरु भ्रमण गर्नेलगायत गतिविधिमा सहभागी हुँदै आएका थिए । उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका ३५ जना कर्मचारको भदौ १५ गते नै कन्ट्याक्ट ट्रेसिङ
गराइसकेको पनि उनका प्रेस सल्लाहकार मोहन बाँस्तोलाले बताए ।
