महेन्द्रनगर– संगठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको एकल इजलासले मुद्दामा थुनछेक आदेश गर्दै चोरीका मोटरसाइकल र स्कुटरका नक्कली कागजात बनाई बेचबिखन गिरोहमा संलग्न कम्प्युटर अपरेटर रानासहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
जिल्ला प्रहरी कार्याय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त मुद्दाका पाँच जना पुर्पक्षका लागि कारागार चलान गरिएको बताउँदै दश जना धरौटीमा रिहा भएको जानकारी दिए ।
उनका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा यातायात कार्यालय कैलालीका कम्प्युटर अपरेटर जितेन्द्र राना, कञ्चनपुरको लालझाँडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्यामकुमार राना, बेदकोट नगरपालिका–६ का हरेन्द्र राना र बेदकोट नगरपालिका–१० का सुवेश राना रहेका छन् ।