काठमाडौं– दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो सोमबार र अस्ति आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ । मौसमविद् समीर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिए ।
मनसुन न्यून चापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ । श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको । आज मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले बाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ ।
बाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा आज र भोलि भारी वर्षाको सम्भावना छ । पश्चिम सर्ने क्रममा भोलि कर्णाली र सुदूरपश्चिमा पनि असर गर्ने श्रेष्ठले बताए । ‘थोरै ठाउँमा भारी वर्षा हुन्छ, हल्का पानी भने मुलुकका अधिकांश ठाउँमा पर्छ,’ मौसमविद् श्रेष्ठले भने ।
प्राप्त विवरणअनुसार आज प्रदेश १ को ताप्लेजुङ, धनकुटा, बाग्मती प्रदेशको रसुवा र काठमाडौंमा पानी परेको छ । गोरखाको बारपाक स्टेसनले सबैभन्दा बढी पानी परेको देखाएको छ । आज प्रदेश ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ ।
पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ ।