सिन्धुलीका विभिन्न स्थानमा रहेका १२ बस्तीलाई सार्न विज्ञको टोलीले सुझाव दिए पनि ती जोखिमयुक्त बस्तीहरु अझै स्थानान्तरण गरिएको छैन । गोरखा भूकम्पपछि खानी तथा भूगर्भ विभाग तथा विज्ञहरुको टोलीले सिन्धुलीका १२ वस्ती स्थानान्तरण गर्न सिफारिस गरेको थियो ।
भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि १२ बस्तीका आठ घर मात्र स्थानान्तरण भएको जिल्ला आयोजना कार्यान्वय एकाइ, स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन कार्यालय सिन्धुलीका प्रमुख सूर्यप्रकाश विष्टले जनाए ।
विज्ञको टोलीले १२ बस्तीका ८०७ घरधरीलाई अन्यन्त्रै स्थानान्तरण गर्न सुझाव दिएको थियो । साविक भीमेश्वर गाविसमा रहेको कोलखोलाको आठ घरधुरीलाई मात्रै अन्यत्र स्थानान्तरण गरिएको विष्टले बताए । उनका अनुसार पुरानो बस्ती छोडी अन्यत्र सर्न चाहने प्रतिपरिवारलाई २ लाख रुपैयाँको दरले अनुदान व्यवस्थापन गरिएको छ ।
दुधौली नगरपालिकाको झुगा, कालापानी क्षेत्रका टोलीले सार्न सिफारिस गरेको अधिकांश बस्ती निर्माणाधीन हेटौंडा–चतारा सडक खण्डमा पर्दछ ।
यसैगरी मरिण गाउँपालिकाको धमिले क्षेत्र गाउँपालिकाकै ठूलो बजार क्षेत्र हो । सहानलगायतको क्षेत्रमा पनि ठूलो वस्ती रहेको र यहाँको जमिनको मूल्य पनि महँगो रहेकाले यहाँका मानिसहरु अन्यत्र सर्न नचाहेको गाउँपालिकाले जनाएको छ । राज्यले दिने दुई लाख रुपैयाँको कैयौं गुणा बढी मूल्य त्यहाँको जमिनको रहेको गाउँपालिकाले जनाएको छ ।